काठमाडौँ। नेपालको पर्यटन र विलासी (लक्जरी) हस्पिटालिटी क्षेत्रमा एउटा नयाँ र ऐतिहासिक अध्याय थपिने भएको छ ।
विश्वप्रसिद्ध होटल चेन म्यारियट इन्टरनेसनलका अध्यक्ष डेभिड म्यारियट आफ्नो पहिलो काठमाडौँ भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । काठमाडौँ ओर्लनासाथ उनी गैरआवासीय नेपाली उद्यमी दम्पती शेष घले र जमुना गुरुङ घलेको स्वामित्वमा निर्माण भइरहेको बहुप्रतीक्षित ‘द लक्जरी कलेक्सन’ (The Luxury Collection) होटलको स्थलगत अवलोकनका लागि पुगेका थिए ।
यो होटल म्यारियट इन्टरनेसनलद्वारा व्यवस्थापन गरिने सिंगो दक्षिण एसियाकै पहिलो ‘लक्जरी कलेक्सन’ ब्रान्डको होटल बन्दैछ, जसलाई नेपालको पर्यटन क्षेत्रमा एउटा ठूलो उपलब्धिका रूपमा हेरिएको छ ।
निर्माण स्थलमा होटलका लगानीकर्ता शेष घले र जमुना घलेले अध्यक्ष म्यारियटलाई भव्य स्वागत गर्दै प्रोजेक्टको हालसम्मको प्रगति र भावी योजनाबारे विस्तृत जानकारी गराएका थिए । नेपाललाई दक्षिण एसियाकै लक्जरी पर्यटनको केन्द्र (हब) का रूपमा स्थापित गर्ने दीर्घकालीन सोच र भिजनका साथ यो परियोजना अगाडि बढाइएको सञ्चालकहरूले बताएका छन् ।

काठमाडौँमा बनिरहेको संरचना केवल एउटा नयाँ होटल मात्र नभएर देशकै गौरव र पहिचान झल्काउने एउटा नयाँ आधुनिक ल्यान्डमार्क (ऐतिहासिक धरोहर) बन्ने विश्वास लिइएको छ ।
म्यारियट चेन अन्तर्गतकै सबैभन्दा प्रिमियम र प्रतिष्ठित मानिने ‘लक्जरी कलेक्सन’ ब्रान्डले दक्षिण एसियामै पहिलो पटक नेपालबाट आफ्नो यस प्रकारको सेवा सुरु गर्न लाग्नु आफैँमा गौरवको विषय हो । यो होटल पूर्ण रूपमा सञ्चालनमा आएसँगै नेपालमा विश्वभरका धनाढ्य र उच्च वर्गका पर्यटकहरूको आगमनमा उल्लेख्य वृद्धि हुने र यसले देशको समग्र अर्थतन्त्र तथा पर्यटन उद्योगलाई नयाँ उचाइमा पुऱ्याउने अपेक्षा गरिएको छ ।

म्यारियट इन्टरनेसनलका अध्यक्ष स्वयम् नेपाल आएर यसरी प्रोजेक्टको निरीक्षण गर्नुले अन्तर्राष्ट्रिय बजारमा नेपालको हस्पिटालिटी क्षेत्रको बलियो सम्भावना र विश्वसनीयतालाई प्रष्ट पारेको छ ।



