लण्डन । बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूले भोगिरहेका चुनौती र अवसरबारे खुला संवाद गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघ यूकेले नेपाली दूतावास, लन्डनको सहकार्यमा शुक्रबार ‘द प्लग’ शीर्षकको एक महत्त्वपूर्ण कार्यक्रम आयोजना गर्यो। शिक्षाविद्हरु, कानुनी विज्ञहरु र सामुदायिक नेताहरुलाई एकै ठाउँमा ल्याइएको यस कार्यक्रमले नेपाली समुदायमा व्यापक सकारात्मक प्रतिक्रिया पाएको छ।
कार्यक्रमकी संयोजक तथा एनआरएनए यूकेकी उपाध्यक्ष डा. रक्षा थापाले अन्तर्राष्ट्रिय विद्यार्थी र भर्खरै स्नातक गरेका युवाहरूले सामना गरिरहेका मुख्य चुनौती र अवसरहरूबारे गहन छलफल गर्ने उद्देश्यले यस कार्यक्रमको परिकल्पना र आयोजना गरेकी थिइन्। विद्यार्थीहरूका वास्तविक समस्यालाई केन्द्रमा राखेर कार्यक्रमको सम्पूर्ण संरचना तयार गर्नु उनको उल्लेखनीय योगदान रह्यो। डा. थापाको दूरदर्शी नेतृत्व र अथक परिश्रमले नै यो कार्यक्रमलाई सार्थक र प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताए।
एनआरएनए आइसीसीका अध्यक्ष डा. हेमराज शर्माले हालै नेपालमा शिक्षा मन्त्रीलाई भेटेर विदेश पढ्न जाने विद्यार्थीहरूलाई प्रस्थानपूर्वको सूचना, सम्बन्धित मुलुकमा पुगिसकेपछि दूतावास लगायत सपोर्ट सिस्टम र नेपाल फर्किसकेपछि रोजगार बजारमा कसरी सहयोग गर्ने भन्नेबारे छलफल भएको जनाए। उनले एनआरएनए केन्द्रीय कार्यालयमा विदेश जानुअघि विद्यार्थीहरूलाई काउन्सिलिङ सुरु गर्ने तयारी रहेको र इकानसँग सहकार्यबारे छलफल भइरहेको पनि बताए। थप महत्त्वपूर्ण कुरा, उनले पहिलो पटक संघका उपाध्यक्षको संयोजकत्वमा विद्यार्थी कल्याण समिति गठन गरिएको घोषणा गरे।
चेस्टर विश्वविद्यालयका प्रा. पदम सिम्खडाले नेपाल अहिले बेलायतमा अन्तर्राष्ट्रिय विद्यार्थी पठाउने पाँचौं ठूलो मुलुक बनेको जानकारी दिँदै सन् २०२५ को डिसेम्बरसम्म १९,५५३ नेपाली विद्यार्थीलाई अध्ययन भिसा प्रदान गरिएको बताए। तर उनले चेतावनी दिए कि बेलायतको डिग्री मात्रले रोजगारीको ग्यारेन्टी गर्दैन विद्यार्थीहरूले लक्षित रूपमा आवेदन दिन, सीभी अनुकूल बनाउन र सञ्जाल विस्तार गर्न सिक्नु अपरिहार्य छ।
सेन्ट मेरिज विश्वविद्यालयकी विदयार्थी प्रतिनिधि प्रेष्टा खनालले बेलायतमा हाल २० हजारभन्दा बढी नेपाली विद्यार्थी रहेको बताउँदै वार्षिक १५ देखि २० हजार पाउन्डसम्म शुल्क र मासिक ९०० पाउन्डसम्म खर्चका कारण विद्यार्थीहरू गम्भीर आर्थिक दबाबमा पर्ने गरेको बताइन्। सांस्कृतिक भिन्नता, भाषिक बाधा र मानसिक स्वास्थ्यका समस्याहरू पनि प्रमुख चुनौतीका रूपमा रहेको उनले औंल्याइन्।
कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडीले नेपाली विद्यार्थी लगायत बेलायतस्थित नेपाली समुदायसंग दूतावासले नजिक रहेर काम गरिरहेको जनाए। उनले ‘होमलेस’ भएका विद्यार्थीहरुलाई खोजेर एनआरएनएको सहयोगमा नेपाल फिर्ता पठाउने काम गरेको पनि स्मरण गरे।
बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडीले ‘होमलेस’ भएका विद्यार्थीहरूलाई खोजेर एनआरएनएको सहयोगमा नेपाल फिर्ता पठाउने काम गरेको स्मरण गराउँदै विदयार्थीहरूको जीवन बीमा गर्ने व्यवस्था मिलाउनुपर्ने आवश्यकतामा जोड दिए। विद्यार्थीले समयमै शुल्क तिर्दा पनि भिसा विथड्र गर्ने ब्रिटिश विश्वविद्यालयविरुद्ध दूतावासले कदम चालेको जानकारी दिँदै उनले भने- “हाम्रो पहिलो दायित्व नेपालको राष्ट्रिय हित र नेपालीहरूको सुरक्षा गर्ने हो।”
भर्चुअल माध्यमबाट सहभागी नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव तथा प्रवक्ता शिवकुमार सापकोटाले सरकार नेपाली विद्यार्थीहरूको हितमा प्रतिबद्ध रहेको बताए।
ब्रिटेन नेपाल सोसाइटीका अध्यक्ष निक हिन्टनले नेपाली विदयार्थी कल्याणका लागि विभिन्न पहलहरू भइरहेका जानकारी दिए, जसमा विद्यार्थी सहयोग प्रणाली र नीति सुझावहरु समावेश छन्।
उद्यमी हरि कार्कीले शिक्षा क्षेत्रको व्यापारिकरण र परामर्श संस्थाहरुले दिने झुट्ठा आश्वासनबारे गम्भीर चिन्ता व्यक्त गरे। अक्सफोर्ड विश्वविद्यालयसँग सम्बद्ध प्रा. कृष्ण अधिकारीले विश्वविद्यालयहरूले अन्तर्राष्ट्रिय विद्यार्थीबाट ठूलो आम्दानी गर्ने भएकाले उनीहरूको रेखदेखको जिम्मेवारी पनि विश्वविद्यालयकै हने बताए। उद्यमी विकास नेपालले सन् २००९ मा विद्यार्थीको रूपमा बेलायत आएर अहिले २५ देशमा व्यापार विस्तार गरेको अनुभव सुनाउँदै विद्यार्थीहरुलाई स्पष्ट लक्ष्यका साथ अघि बढ्न र संघर्षबाट नहट्न सुझाव दिए।
एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले बेलायतमा पढ्ने विद्यार्थीले पाठ्यक्रमका साथसाथै ब्रिटिश जीवन शैली, संस्कृति र समाजबाट पनि सिक्नुपर्ने बताउँदै एनआरएनए यूकेले नेपाली विद्यार्थी र युवा पेशेवरहरुलाई निरन्तर सहयोग गरिरहने प्रतिबद्धता जनाए।
कार्यक्रमको अन्त्यमा अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि सहयोग प्रणाली सुदृढ गर्ने, पारदर्शी शिक्षा प्रणाली प्रवर्धन गर्ने र नेपाली विद्यार्थीहरूलाई सफल बनाउन सरकार, विश्वविद्यालय, समुदाय र विद्यार्थीहरुबीच सामूहिक प्रयास आवश्यक रहेको निष्कर्ष निकालिएको थियो।
एनआरएनए यूकेका प्रवक्ता श्याम लुइँटेल र शिविरा लामा रुइतले सञ्चालन गरेको कार्यक्रममा नेपाली दूतावासका सैनिक सहचारी रथी अनुप शाह, एनआरएनए यूकेका प्रमुख संरक्षक चीरन्जीवी ढकाल, अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुराल, एनआरएनए इङ्गल्याण्डकी अध्यक्ष राममाया बिष्ट लगायत विद्यार्थी, पेशेवर, उद्यमी, कानुनविद् तथा शैक्षिक विज्ञहरुको उत्साहजनक उपस्थिति रहेको थियो।
कार्यक्रमको दोस्रो सत्रमा शिविरा लामाको कुशल सञ्चालनमा एक विशेष प्यानल छलफल आयोजना गरिएको थियो, जसमा प्यानलिस्टहरूले महत्त्वपूर्ण विषयहरूमा गहन विचार आदानप्रदान गरे।
प्यानलिस्टका रूपमा डा. बचु कैलाश कैनीले नेपाली समुदायले सामना गरिरहेका प्रमुख चुनौतीहरू र सही मार्ग छनोटको महत्त्वबारे आफ्ना विचार साझा गरे। उनले विद्यार्थीहरूलाई दीर्घकालीन सोचका साथ आफ्नो करियर र जीवनको दिशा निर्धारण गर्न प्रोत्साहित गरे।
कानुनी विज्ञ दीपक भट्टराईले बेलायतमा नेपाली विद्यार्थीहरुले सामना गर्नुपरेका कानुनी, भिसा तथा आप्रवासनसम्बन्धी जटिल समस्याहरूलाई विस्तारपूर्वक उजागर गर्दै ती समस्याहरूका सम्भावित समाधानहरु प्रस्तुत गरे। उनको प्रस्तुतिले विशेष गरी भिसासम्बन्धी अन्योल र कानुनी अधिकारबारे विद्यार्थीहरूमा व्याप्त अज्ञानतालाई सम्बोधन गर्यो।
उद्यमी चोङ शेर्पाले आफ्नो संघर्षदेखि सफलतासम्मको प्रेरणादायी व्यक्तिगत यात्रा सहभागीहरूसँग साझा गरे। उनको अनुभवले विशेष गरी नयाँ आएका विद्यार्थीहरुमा आशा र उत्साहको सञ्चार गर्यो।
एनआरएनए आइसीसीका सचिव प्रसुन्न कडेलले नेपाली विद्यार्थीहरुका लागि संस्थागत सहयोग र एनआरएनएको भूमिकाबारे आफ्ना विचार राखे। उनको सहभागिताले छलफललाई थप गरिमामय र अर्थपूर्ण बनायो।
प्यानलिस्टका रुपमा सारा पार्करले बेलायती दृष्टिकोणबाट अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि उपलब्ध सहयोग प्रणाली र अवसरहरुबारे आफ्ना विचार साझा गरिन्। साथै बिद्यार्थी राजेश भट्टले आफ्नो अनुभव र विशेषज्ञताका आधारमा नेपाली विद्यार्थीहरुले बेलायतमा अगाडि बढ्न अपनाउनुपर्ने व्यावहारिक रणनीतिहरूबारे मार्गदर्शन प्रदान गरे।
जसमा उपस्थित विद्यार्थीहरुले प्यानलिस्टहरूसँग आफ्ना मनमा जमेका जिज्ञासाहरु खुलेर राखे। विद्यार्थीहरूले भिसा अस्वीकृति भएको अवस्थामा के गर्ने, पढाइ सकेपछि बेलायतमै काम गर्न पाइने सम्भावना, मानसिक स्वास्थ्य समस्यामा कहाँ सहयोग लिने, र नेपाल फर्किएपछि कसरी रोजगारीको अवसर खोज्ने जस्ता व्यावहारिक प्रश्नहरू उठाए। प्यानलिस्टहरूले प्रत्येक प्रश्नको विस्तृत र व्यावहारिक उत्तर दिँदै विद्यार्थीहरुलाई मार्गदर्शन गरे। यस प्रश्नोत्तर सत्रले कार्यक्रमलाई एकतर्फी जानकारी मात्र नभई विद्यार्थीहरूको वास्तविक चिन्तालाई सम्बोधन गर्ने एक सार्थक संवादमा रुपान्तरित गर्यो।
डा. रक्षा थापाको संयोजनमा सम्पन्न यस ‘द प्लग’ कार्यक्रमले बेलायतमा बस्ने नेपाली विद्यार्थीहरूका लागि नयाँ आशाको किरण बोकेको छ र नेपाली समुदाय, दूतावास तथा एनआरएनएबीच थप सहकार्यको बाटो खोलेको छ ।


