बार्सिलोना । स्पेनमा नेपाली समुदायको गौरवको आयोजनाका रूपमा हेरिएको ‘नेपाल घर’ (मन्दिर) निर्माणार्थ सञ्चालित ऐतिहासिक आध्यात्मिक महोत्सवमा आर्थिक सहयोग जुट्ने क्रम उत्साहजनक रूपमा अगाडि बढेको छ। मन्दिर निर्माण अभियानलाई सार्थक तुल्याउन आयोजित यस महोत्सवमा हालसम्मको कुल बोलिएको (प्रतिवद्धता जनाइएको) सहयोग रकम ३,१२,६३२ युरो ४९ सेन्ट पुगेको छ। कुल घोषित रकममध्ये हालसम्म १,०२,५१२ युरो ९४ सेन्ट नगद संकलन भइसकेको आयोजक समितिले जनाएको छ।
यसै अभियानको पछिल्लो क्रममा बेनिड्रम निवासी समाजसेवी जोडी रितेस र सुनयना श्रेष्ठले नेपाल घर निर्माणका लागि २,२२२ युरो सहयोग गर्ने घोषणा गर्नुभएको छ।
उहाँहरूको यो महत्त्वपूर्ण योगदानसँगै कुल बोलिएको सहयोग रकममा थप वृद्धि भई नयाँ उचाई कायम भएको हो।
स्पेनमा रहेका नेपालीहरूलाई भावनात्मक र सांस्कृतिक रूपमा जोड्ने यस पवित्र कार्यमा विभिन्न सहरबाट भक्तजन तथा दाताहरूले देखाएको स्वैच्छिक सहभागिताले परियोजना छिट्टै सम्पन्न हुने विश्वास लिइएको छ। आयोजकले यस महान कार्यमा हातेमालो गर्ने सम्पूर्ण मनकारी दाताहरूमा हार्दिक आभार व्यक्त गर्दै बाँकी प्रतिबद्धता रकम पनि समयमै प्राप्त हुने अपेक्षा राखेको छ।


