स्पेनको सत्तारुढ गठबन्धनमा रहेका दलहरू—समाजवादी पार्टी (PSOE) र पोदेमोस (Podemos) बीच करिब ५ लाख आप्रवासीहरूलाई वैधानिक बनाउने (Mass Regularization) ऐतिहासिक सहमति भएको छ। पोदेमोसकी नेता तथा युरोपेली सांसद इरेन मोन्तेरोले म्याड्रिडमा आयोजित एक कार्यक्रममा यस सहमतिको औपचारिक घोषणा गर्दै ३१ डिसेम्बर २०२५ सम्म स्पेन आइपुगेका आप्रवासीहरूले कानुनी दर्जा पाउने जानकारी दिए।
यस नयाँ व्यवस्थाअनुसार, स्पेनमा कम्तीमा पाँच महिनादेखि बसोबास गरिरहेका र कुनै गम्भीर आपराधिक रेकर्ड नभएका विदेशी नागरिकहरूले आवासीय र कार्य अनुमतिका लागि आवेदन दिन सक्नेछन्। आफ्नो बसाइ प्रमाणित गर्नका लागि नगरपालिकाको दर्ता (Empadronamiento), अस्पतालको रिपोर्ट, बिजुलीको बिल, यातायातको टिकट वा विदेशमा पैसा पठाएको प्रमाण पेश गर्न सकिने प्रावधान राखिएको छ।
यो प्रक्रियालाई निकै सहज र सुरक्षात्मक बनाइएको छ। आवेदन दिने बित्तिकै सम्बन्धित व्यक्तिमाथि लागेका पुराना निकाला गर्ने आदेश वा काम गर्ने अनुमति नभएका कारण चलाइएका कानुनी कारबाहीहरू स्वतः स्थगित हुनेछन्। आवेदन प्रक्रिया सुरु भएपछि उनीहरूलाई काम गर्न र स्वास्थ्य सेवा लिन योग्य बनाउने गरी अस्थायी अनुमति प्रदान गरिनेछ। अन्ततः, प्रक्रिया सफल भएपछि एक वर्षको आवासीय अनुमति दिइनेछ, जसलाई पछि अध्यागमन कानुनअनुसार नवीकरण गर्न सकिनेछ।
इरेन मोन्तेरोका अनुसार, धेरै आप्रवासीहरू अहिले पनि प्रहरीको डरले अस्पताल जान वा छोराछोरीलाई विद्यालय पठाउन डराउने अवस्थामा छन्। यो सम्झौताले त्यस्तो डरको अन्त्य गर्दै उनीहरूलाई कानुनी अधिकार र सामाजिक सुरक्षाको प्रत्याभूति दिनेछ। मन्त्रालयका स्रोतहरूका अनुसार, यो निर्णय मंगलबार नै मन्त्रिपरिषद्बाट पारित गरिनेछ र यसका लागि संसदको अनुमोदन आवश्यक पर्ने छैन, किनभने यो विद्यमान अध्यागमन नियमावलीमा गरिएको सुधार मात्र हो।
यसअघि सन् २००५ मा तत्कालीन प्रधानमन्त्री जापातेरोको पालामा पनि यसरी नै ठुलो संख्यामा आप्रवासीहरूलाई वैधानिक बनाइएको थियो। आगामी जुन ३० सम्म योग्य व्यक्तिहरूले यस योजनाअन्तर्गत आवेदन दिएर आफ्नो बसाइलाई कानुनी रूप दिन सक्नेछन्।


