काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्य समिति धादिङले यसपटक धादिङ क्षेत्र नं. १ बाट संघीय सांसदका लागि एक यस्ता व्यक्तित्वलाई सिफारिस गरेको छ, जसको जीवन प्रवासी नेपालीहरूको हकहित र मातृभूमिको सेवामा अनवरत समर्पित छ । ती हुन्– गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय उपाध्यक्ष तथा नेपाली कांग्रेसका महासमिति र महाधिवेशन प्रतिनिधि मनोज कुमार श्रेष्ठ ‘गोर्खाली’ ।
श्रेष्ठको यात्रा केवल राजनीतिक पदको सिँढी मात्र होइन, यो त ‘गोर्खाली’ पहिचान बोकेर विश्वभर छरिएका लाखौं नेपालीको पीडामा मल्हम लगाउने र हरेक संकटमा नेपालको ढुकढुकी सुन्ने एक सच्चा सेवक पनि हुन् ।
मनोज कुमार श्रेष्ठको सांगठनिक यात्रा सन् २०१० मा दुबईमा जन सम्पर्क समिति सभापति बनेदेखि नै सुरु भएको थियो । उनले प्रवासी नेपाली समुदायमा ‘मनोज गोर्खाली’ को नामलाई विश्वासको पर्याय बनाए । सन् २०११ मा एनआरएनए यूएईको उपाध्यक्ष, २०१७ मा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) सदस्य हुँदै उनले मध्यपूर्व क्षेत्रको सह–समन्वयक र त्यसपछि समन्वयक (२०१९ र २०२१) को गहन जिम्मेवारी सफलतापूर्वक निर्वाह गरे ।
मध्यपूर्वमा रहेका २२ लाख श्रमिक नेपालीको आशाको केन्द्रबिन्दु बनेर काम गरेपछि विश्वव्यापी रूपमा उनको कदर भयो । २०२३ मा एनआरएनएको प्रथम सचिव र हाल २०२५ मा केन्द्रीय उपाध्यक्षको पदमा पुग्नु, उनको क्षमता र समर्पणको जीवन्त प्रमाण हो । नेपाली कांग्रेस पार्टीको महाधिवेशन प्रतिनिधिको रूपमा उनले पार्टीको सिद्धान्त र संगठनप्रति पनि अटल निष्ठा देखाउँदै आएका छन् ।

गोर्खालीको परिचय उनको पदबाट मात्र होइन, मानवीय सेवाको भावनाबाट झल्किन्छ । संकटको घडीमा उनी सदैव अग्रपंक्तिमा उभिएका हुन्छन् । सन् २०१५ को विनाशकारी (२०७२) भूकम्पमा उनी राहत लिएर लाप्राक र बारपाक जस्ता दुर्गम र अत्यधिक प्रभावित क्षेत्रहरूमा अन्य कोही नपुग्दै पुगे । उनले टेन्टमा बसेर स्थानीयलाई सहयोग र हौसला प्रदान गरे ।
कोभिड १९ महामारीको चरम अवस्थामा नेपाल अक्सिजनविहीन हुँदा, मध्यपूर्वको संयोजकको भूमिकामा रहेका श्रेष्ठले यूएई सरकारसँगको सहकार्यमा चार्टर फ्लाइटमार्फत नेपाल सरकारको स्वास्थ्य मन्त्रालयलाई अक्सिजन हस्तान्तरण गरेर सयौं नेपालीको जीवन बचाउन निर्णायक भूमिका खेले । यति मात्र होइन, करिब २० करोड नेपाली रुपैयाँ बराबरको ४०–५० टन राहत सामग्री उनको सक्रियतामा नेपालका १३ जिल्लामा वितरण गरियो । उनको यही अतुलनीय योगदानका लागि अल मक्तूम (युएई) बाट उनलाई ‘कोभिड हिरो अवार्ड’बाट सम्मान गरियो ।
कैलाली कन्चनपुरमा भएको बाढी पीडित ६०० घरधुरी र जाजरकोटमा भूकम्प पीडित ५०० घर परिवारलाई राहत व्यवस्थापन गर्न उनले राहत कोषको संयोजकको भूमिकामा रहेर महत्वपूर्ण योगदान गरे ।
मनोज गोर्खालीको सामाजिक कार्य केवल विपद्मा मात्र सीमित छैन । उनले स्थायी परिवर्तनका लागि शिक्षा र युवा शक्तिको विकासमा लगानी गरेका छन् । धादिङको रोरण गाउँपालिकामा शिक्षाको पहुँच नभएका चेपाङ समुदायका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने लक्ष्यसहित ‘माटिलो रोरण विद्यालय’ स्थापनामा उनको भूमिका उल्लेखनीय छ ।
त्यस्तै, खेलकुदको माध्यमबाट राष्ट्रिय एकता र गौरव बढाउन उनी निरन्तर सक्रिय छन् । एनआरएनए खेलकुद विभागकोे प्रमुख भई नेतृत्व गर्दा नेपाल सरकार राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको ८औँ र ९औँ राष्ट्रिय खेलकुदमा एनआरएनए टोलीले क्रमशः १६ र २४ पदक जितेर सफलता हासिल गर्यो । उनले युवा वर्गका लागि रोजगारीका अवसर सिर्जना गर्ने र दुर्गम भेगका बालबालिकाको भविष्य उज्ज्वल बनाउने अभियानमा निरन्तर संलग्नता जनाएका छन् ।
भदौ २३–२४ को जेनजी आन्दोलनका कारण उपत्यका ट्राफिक कन्ट्रोलरुममा भएको क्षतिको विषम परिस्थितिमा गोर्खालीले नेतृत्वको उत्कृष्ट नमुना प्रस्तुत गरे । उनको विशेष अग्रसरता र दूरदर्शिताकै कारण, कन्ट्रोलरुमलाई छोटो समयमै पुनः सञ्चालनमा मात्र ल्याइएन, बरु सडक सुरक्षालाई केन्द्रमा राख्दै, पहिलेभन्दा अझ परिष्कृत र उच्चतम प्रविधि जडान गरी स्तरोन्नति गरियो । यो कार्यले काठमाडौँ उपत्यकाको स्मार्ट ट्राफिक व्यवस्थापन र नागरिक सुरक्षाप्रतिको उनको समर्पण र कार्यक्षमतालाई स्पष्टसँग उजागर गरेको छ ।

गोर्खालीले आफू जन्मेको क्षेत्र, जिल्ला, प्रदेश अनि समग्र मातृभूमिको नै समृद्धि र उन्नतिका लागि समर्पित रहने दृढ प्रतिबद्धता व्यक्त गरेका छन् । यसै लक्ष्य प्राप्तिको दिशामा, उनले फागुन २१ गते हुने आम निर्वाचनमा मुलुककै पुरानो र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसबाट धादिङ क्षेत्र नम्बर १ बाट आफ्नो उम्मेदवारी रहने घोषणा गरेका छन् ।
उनको विशेष ध्यान विदेशमा सिकेका सीप, ज्ञान र पुँजीलाई नेपाल भित्र्याउन पहल गर्ने र त्यसलाई राष्ट्र निर्माणमा परिचालन गर्नेमा केन्द्रित रहनेछ । त्यसैले मनोज कुमार श्रेष्ठ ‘गोर्खाली’को यो अनुभव, समर्पण र राजनीतिक परिपक्वताले धादिङ–१ लाई केवल प्रतिनिधित्व मात्र होइन, विकास र समृद्धिको नयाँ दिशा दिने विश्वासका साथ नेपाली कांग्रेसले उनलाई सिफारिस गरेको आम बुझाइ छ ।


