नेपाली कांग्रेस देशको सबैभन्दा पुरानो र लोकतान्त्रिक आन्दोलनको धरोहर र नेतृत्व प्रदान गरेको दल हो । यही पार्टीबाट देशले प्रजातन्त्र, संविधान, बहुदलीय प्रणाली सँगै गणतन्त्र पाएको हो । तर विगत केही वर्षयता कांग्रेसभित्र नेतृत्वप्रति असन्तोष, संगठनमा निष्क्रियता र नीतिगत अस्पष्टता बढ्दै गएको पनि देखिन्छ । कतिपय असन्तुष्ट समूहले जेन जेड आन्दोलन देखाएर मौकाको रुपमा पार्टिभित्र विशेष महाधिवेशनको माग गर्दै नेतृत्व परिवर्तनको आवाज उठाइरहेका छन् ।
तर यस्ता मागहरू अहिलेको परिस्थितिमा न त व्यावहारिक छन्, न त संस्थागत दृष्टिले जायज । अहिले जुन विषम परिस्थिति छ यस हिसाबले पनि कांग्रेसमा विशेष महाधिवेशनको माग जायज देखिँदैन । पार्टीलाई बलियो बनाउने बाटो आकस्मिक विद्रोह होइन, अहिलेको आवश्यक्ता त सभ्य र संस्थागत परिवर्तन सहित वर्तमान नेतृत्वको सम्मानजनक बिदाइ हो । अहिलेको नेतृत्वको सम्मानजनक बिदाइसहित नियमित महाधिवेशनको तयारी गर्नु नै लोकतान्त्रिक परम्परासँग मेल खाने बाटो हो ।
लोकतन्त्रमा नेतृत्व परिवर्तनको प्रक्रिया संस्थागत हुनुपर्छ, व्यक्तिगत असन्तुष्टि वा गुटगत हितका आधारमा होइन । आजको कांग्रेसभित्र समस्या शीर्ष नेतृत्वको मात्र होइन, पदाधिकारीसहित जिम्मेवारिमा रहेका विभिन्न तहका नेता र संगठनात्मक संरचनाको पनि छ । बूथदेखि जिल्ला र केन्द्रसम्म पार्टीको कार्यशैलीमा लामो समयदेखि जनसम्पर्क कमजोर देखिन्छ । न त कार्यकर्ताले आफ्नो मत सुन्ने वातावरण पाएका छन्, न त नीतिगत बहसमा सहभागी हुने मौका । त्यसैले आगामी महाधिवेशन बूथदेखि सुरु हुनुपर्छ, जहाँ प्रत्येक कार्यकर्ताले भाग लिन पाउने अधिकार होस् । यही बाटोले कांग्रेस पुनर्जीवित हुन्छ ।
कांग्रेसले समयसापेक्ष नीतिगत स्पष्टता ल्याउन सकेको छैन । नयाँ पुस्ता, विशेषतः जेनरेशन जेड र अल्फा पुस्ता, पुराना नाराबाट प्रेरित हुँदैनन् । उनीहरूलाई पारदर्शिता, परिणाम र नीति–आधारित राजनीति चाहिन्छ । कांग्रेस पार्टी अझै पनि पुरानै शक्ति सन्तुलन र व्यक्ति–केन्द्रित सोचमा अड्किएको छ । पार्टीले यदी युवालाई विश्वास गर्न सकेन भने लोकतान्त्रिक विकल्पका रूपमा आफूलाई पुनःस्थापित गर्न गाह्रो हुनेछ । त्यसका लागि कांग्रेसभित्रको पहिलो काम आत्ममूल्यांकन हो । जनतासँग जोडिने राजनीतिक संस्कृति पुनःस्थापित गर्न नेतृत्वले साहस देखाउनुपर्छ । सत्ता र संगठनबीचको सन्तुलन बिग्रँदा नै पार्टीमा असन्तुष्टि बढेको हो । सत्तामा हुँदा जिम्मेवारी र संगठनमा हुँदा अनुशासन—यी दुई गुण पुनर्जीवित नगरेसम्म कांग्रेसको पुनर्जागरण सम्भव छैन ।
अर्को महत्वपूर्ण कुरा, पार्टीभित्रको विचारधारात्मक बहसलाई पुनः सक्रिय गर्नुपर्छ । लोकतन्त्रको नाममा संस्थागत ढाँचा निष्क्रिय हुँदा नेतृत्व गुटको बन्दी बन्न पुग्छ । त्यसैले आगामी महाधिवेशनले कांग्रेसको आर्थिक नीति, संघीयता, सामाजिक न्याय र सुशासनमा नयाँ दृष्टिकोण ल्याउन जरुरी छ । संविधानको मर्मअनुसार दलभित्रको लोकतन्त्र नहुने हो भने बाह्य लोकतन्त्र पनि असल रहँदैन । कांग्रेस अहिले पनि देशको प्रमुख राजनीतिक शक्ति हो । उसको कमजोर नेतृत्वले मात्र जनताको विश्वास घटाएको हो, लोकतान्त्रिक आदर्श अझै पनि कांग्रेससँगै बाँचेको छ । त्यसैले अहिलेको आवश्यकता नेतृत्वमाथिको व्यक्तिगत आक्रोश होइन, सुधारको समन्वित आन्दोलन हो ।
बूथदेखि केन्द्रसम्म सहभागीता, युवाको नेतृत्वमा नयाँ ऊर्जा, र आन्तरिक लोकतन्त्रकै अभ्यास, यही बाटो हो जसले कांग्रेसलाई पुनः राष्ट्रिय आशा बनाउँछ । विशेष महाधिवेशनको नाममा पार्टीमा अस्थिरता ल्याउने प्रयासले अन्ततः लोकतान्त्रिक संस्थालाई कमजोर बनाउँछ । त्यसको सट्टा, कांग्रेसले सहमतिको माध्यमबाट जिम्मेवार संक्रमण सुनिश्चित गर्नुपर्छ । पुरानो नेतृत्वले गरिमापूर्ण ढंगले बाटो खुला गरोस्, नयाँ नेतृत्वले परम्पराको सम्मान गर्दै सुधारको यात्रामा अघि बढोस् । यही सन्तुलित रूपान्तरणले कांग्रेसको ऐतिहासिक भूमिकालाई पुनर्जीवित गर्न सक्छ ।
नेपालमा अहिले राजनीतिक विश्वासको संकट छ । जनता विकल्प खोजिरहेका छन् । यदी कांग्रेसले आफ्नै घरमा लोकतन्त्र बलियो बनाउन सकेन भने त्यो विकल्प अरूले खोज्नेछन् । त्यसैले आजको सबभन्दा ठुलो काम पार्टीभित्र लोकतान्त्रिक अभ्यास र जवाफदेहीताको संस्कृतिलाई पुनःस्थापित गर्नु हो । जसको सुरुवात नियमित र सहभागी महाधिवेशनबाट हुनुपर्छ ।


