बार्सिलोना। स्पेनको Albacete शहरमा भएको सडक दुर्घटनामा परी भोजपुर, सदानन्द नगरपालिका–४ निवासी ३२ वर्षीय पदम घिमिरेको असामयिक निधन भएको छ। उक्त दुःखद घटनाप्रति गहिरो शोक व्यक्त गर्दै गैरआवासीय नेपाली संघ (NRNA) स्पेनले आपतकालीन बैठक (भौतिक तथा zoom) बसेर श्रद्धाञ्जली सभा आयोजना गर्ने, कानुनी लडाइँलाई विशेष महत्वका साथ अघि बढाउने र आर्थिक संकलन सुरु गर्ने निर्णय गरेको छ।
संघका अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले परिवार संगको सम्पर्क पछी अन्त्येष्टि स्पेनमै गर्ने र श्रद्धाञ्जली सभा अल्बासेटे स्थित Tanatorio मा शुक्रबार बिहान ९ बजे आयोजना गर्ने निर्णय गरेको छ। संघले सम्पूर्ण स्पेनवासी नेपाली दाजुभाइ दिदीबहिनीलाई श्रद्धाञ्जली सभामा उपस्थित रहन हार्दिक आह्वान गरेको छ।
यस घटनालाई केवल व्यक्तिगत पीडा मात्र नभई सम्पूर्ण प्रवासी नेपाली समुदायको हक–अधिकारसँग जोडिएको विषयका रूपमा लिइएको छ। त्यसैले, बैठकले कानुनी प्रक्रियालाई विशेष महत्वका साथ अघि बढाउने र पीडित परिवारलाई न्याय दिलाउन आवश्यक सम्पूर्ण कदम चाल्ने निर्णय गरेको छ। यसका लागि वकिल नियुक्त गर्ने, सम्बन्धित निकायहरूसँग दवावमूलक समन्वय गर्ने तथा घटनासम्बन्धी सम्पूर्ण कानुनी प्रक्रिया अघि बढाउने जिम्मेवारी वरिष्ठ उपाध्यक्ष सुरेन्द्र भुजेल थापालाई दिइएको छ।
यस्तै, पीडित परिवारलाई सहयोग पुर्याउन आर्थिक संकलन समिति पनि गठन गरिएको छ। समितिको संयोजक उपाध्यक्ष दिपक बस्नेत रहनुहुनेछ भने सदस्यमा कोषाध्यक्ष नारायण सुवेदी र युवा संयोजक दीपिका श्रेष्ठ रहनेछन्। संघले संरक्षक, सल्लाहकार तथा सम्पूर्ण संघ–संस्थासँग समन्वय गरी सहयोग संकलन अभियान सुरु गर्ने जनाएको छ ।



